उत्तरी गोरखा तमु समाज (फुङ्ग) उत्तरी गोरखा क्षेत्रका तमु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक उत्थानका लागि समर्पित एक गैरनाफामूलक सामाजिक संस्था हो। वि.सं. २०६५ सालमा स्थापना भएको यस संस्थाले समुदायको एकता, पहिचान संरक्षण तथा समग्र विकासलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि बढाउँदै आएको छ।
वि.सं. २०७१ वैशाखमा गोरखाको आरुघाटमा सम्पन्न दोस्रो अधिवेशनबाट मलाई यस संस्थाको अध्यक्षको जिम्मेवारी प्राप्त भएको हो। देशमा बदलिँदो राजनीतिक परिवेश र सामाजिक परिवर्तनका मुद्दालाई आत्मसाथ गर्दै उत्तरी गोरखाका तमु बन्धुहरूको हक, हित र समग्र उत्थानका लागि संस्था निरन्तर सक्रिय रहँदै आएको छ।
भौगोलिक रूपमा विकट रहेको उत्तरी गोरखा जिल्लाका करिब १६ वटा तत्कालीन गाउँ विकास समितिका क्षेत्रहरू शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक दृष्टिले पछाडि परेका छन्। त्यहाँ स्थानीय चेतना र विकासका अवसरहरूको कमी रहेको अवस्थालाई मध्यनजर गर्दै समुदायमा चेतना अभिवृद्धि गर्ने, विकासका अवसरहरू विस्तार गर्ने र राज्यका निकायहरूसँग पहुँच बढाउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको हो।
यद्यपि भौगोलिक कठिनाइका बीच पनि उत्तरी गोरखा क्षेत्र भाषा, संस्कृति र मौलिक सम्पदाको दृष्टिले अत्यन्त धनी छ। यस क्षेत्रको सांस्कृतिक पहिचान संरक्षण, प्रवर्द्धन तथा राष्ट्रिय स्तरमा स्थापित गर्ने कार्यलाई संस्थाले आफ्नो महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको छ। साथै जातीय तथा भाषिक एकता सुदृढ गर्दै समावेशी समाज निर्माण गर्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको छ।
संस्थाको कार्यकालमा उत्तरी गोरखाका सबै विद्यालयहरूमा प्राथमिक तहदेखि मातृभाषा शिक्षालाई अनिवार्य रूपमा सञ्चालन गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। यसले भाषिक स्पष्टता, सांस्कृतिक एकता र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
अन्त्यमा, मलाई यस संस्थाको नेतृत्वको जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहयोग, सहकार्य र एकताको अपेक्षा गर्दछु। हाम्रो पहिचान, संस्कृति र इतिहास नै हाम्रो अस्तित्वको आधार भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा प्रयास आवश्यक छ।